इटहरी । बिराटनगरको रानीदेखी किमाथान्का जोड्ने कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबार इटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्कान सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथान्का ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रबारदेखि इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब अभियानकै रुपमा अगाडी लैजाने बताएका छन् ।
इटहरी क्षेत्र भएर दैनिक हजारौ यात्रु तथा सर्वसाधारण आवतजावत गर्ने हुदा आसपासका संरचनाले सडक साँघुरो हुनुका साथै ६ लेन सडक निर्माण परियोजनाले पनि पूर्णता पाउन सकेको थिएन । सडक आसपासका संरचना हटाइदा आवगमनमा सहज हुने मात्रै नभइ नगरको सुन्दरतापनि बढ्ने स्थानीय घनश्याम गुरुङ्गको भनाइ छ ।
उपमहानगरले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एक तले पक्की भवनमा डोजर चलाई अभियानको सुरुवात गरेको बताएका छ ।
पटक–पटक सूचना जारी गर्दा पनि घरधनी तथा ब्यवसायीहरूले अटेर गर्दै आएकोमा शुक्रबार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो । इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रबारवाट अभियान थालिएको जनाइएको छ । सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी शुक्रबारदेखि सुरु गरेर यसलाई निरन्तर काम सुरु हुने पनि उपमहानगरले जनाएको छ ।
सो राजमार्ग विस्तारका क्रममा सर्वोच्च अदालतको मिति २०६६ भदौ २९ गते फैसलाले निवेदकहरु अग्नीप्रसाद पौडेल, महावती थरुनी, सितादेवी ढकाल, आरतीदेवी थरुनी, निर्मलादेवी साह, महेश्वर सरदार, ज्ञानलाल सरदार, जनार्दनप्रसाद दाहाल, लखनलाल सरदार, राजकुमार हलुवाई, प्रभुराम चौधरी, पद्मावती थरुनी, कलकतु चौधरी, दुखनी थरुनी, पार्वतीकुमार चौधरी, रघुनाथ साहलगायतले अदालतमा पेश गरेको निषेधाज्ञायुक्त परमादेशबारेमा सम्बन्धित निकाय मौन रहेकोले सरोकारवालाहरुले उक्त फैसलालाई शिरोधार्य गरेर सडक विस्तार कार्यलाई अगाडि बनाउनु पर्ने बताए ।
