धनकुटा । मत बदर नहोस् भन्ने उद्देश्यले धनकुटामा नमूना मतदान गरिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजना गरिएको नमूना मतदानमा धनकुटाका ३६ जना मतदाताहरुले मतदान गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मतदान स्थलमा रहेको मतदान केन्द्रमा २२ जना पुरुष र १४ जना महिला गरि ३६ जना मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले आयोजना गरेको नमूना मतदान कार्यक्रममा मतदान सकि घर फर्कदै गरेका मतदाता भन्छन् स्थानीय तहभन्दा फरक र धेरै समय लाग्नसक्ने यो निर्वाचन भएकाले मतदाताहरु अलमलमा पर्न सक्ने हुदा मतदाता शिक्षालाई तीब्र बनाउनु आवश्यक देखिन्छ ।
नमूना मतदानमा सहभागी भएपछि चार ठाउँ लगाउनु पर्दा धेरै समय लाग्नसक्ने भएकाले मतदान स्थलको व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने मतदाताहरुले सुझाव दिए।
आगामी निर्वाचनमा प्रत्येक मतदाताले आफ्ना इच्छाएका उम्मेदवारलाई चार मतपत्रमा एक एक छाप लगाएर चारवटा मतपेटिकामा खसाल्नु पर्नेछ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत श्रोष्ठका अनुसार पहिलो मतपत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मतदान गरेर मतपेटिकामा खसाल्नु पर्नेछ । दोस्रो प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारलाई मतदान गरी मतपेटिकामा खसाल्नु पर्नेछ । त्यसपछि प्रदेशसभा सदस्यतर्फको प्रत्यक्षमा मतदान गरेर मतपेटिकामा खसालेपछि प्रदेश सभातर्फकै समानुपातिक उम्मेदवारलाई मत हाल्नुपर्ने प्रक्रिया छ ।
धनकुटाका सात स्थानीय तहमध्ये सोमबार धनकुटा नगरपालिकामा नमूना मतदान गरिएको हो ।
यससँगै मतदाता शिक्षासमेत सुरु गरिने भएको छ । स्थानीय तहमार्फत सञ्चालन हुने मतदाता शिक्षामा प्रत्यक्ष घरदैलो र सामुदायिक कार्यक्रम गरिनेछ । मतदानमा सहभागी मतदातालाई सहज बनाउन मतदान स्थलको व्यवस्थापनमा विशेष ध्यान दिइने र त्यसका लागि मतदान अधिकृत नियुक्त भएपछि सम्बन्धित केन्द्रमा खटिने सुरक्षा प्रमुख र अधिकृतलाई मतपेटिकाको व्यवस्थापनमा लगाउने ।
बिहान ७ः०० बजेदेखि मतदान गर्ने समय तोकिएकाले मतदातालाई बिहानैदेखि मतदानमा सहभागी भइदिन अनुरोध गरे । सुरक्षाको तीन घेरा नमुना मतदान भएको धनकुटाको व्यस्त बजारमा निर्वाचनको समयमा जस्तै सुरक्षाको तीन घेरा कायम गरिएको थियो । पहिलो घेरा र मतपेटिकासँगै नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र त्यसभन्दा बाहिरी घेरामा नेपाली सेनाको पहरा देखिन्थ्यो ।
