विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।
गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ को आयोजनामा शनिबार शुरु भएको सुरक्षा गोष्ठिमा प्रदेश नं. १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।गोष्ठिीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मंसिर–४ गते हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले आवश्यकता र भौगोलिक अवस्था हेरेर सुरक्षाको सवै प्रवन्ध मिलाइएको बताए । निर्वाचनमा हार जित भन्दा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउदा देशले जित्ने भएकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।
शान्ति सुरक्षाका लागि संवाद पनि महत्वपूर्ण हतियार हुने भएकाले निर्वाचनमा केहि समस्या आए संवाद र छलफल गरेर स्थानीयहरुसंग समन्वय गरी समाधान निकाल्न सुरक्षा प्रमुखहरुलाई उनले आग्रह गरे । गृह मन्त्रालयका प्रवक्त एंव सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले आगामी निर्वाचनका लागि सुरक्षा निकाय अन्तर्गतको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले निर्वाचनका लागि राज्यको सम्पूर्ण निकाय परिचालन भएकाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनमा सुरक्षाका लागि देशभर म्यादी प्रहरी सहित २ लाख ५८ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुने बताए । भारतसंग सीमा जोडिएका जिल्लाहरुका सीमा नाकाहरुमा थप सुरक्षा सतर्कता अपनाउनु पर्नेमा समेत उनले जोड दिए ।
प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले निर्वाचनको प्रदेश स्तरीय सुरक्षा तयारीका बारेमा जानकारी गराएका थिए। सो गोष्ठिीमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, सशत्र प्रहरी महानिरिक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा तथा नेपाली सेनाका बलाधिकृत सरोज प्रताप राणा लगायतको सहभागिता रहेको थियो ।