विराटनगर । आगामी मंसिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा साढे सात हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
मोरङ जिल्लामा एक महानगरपालिका सहित १७ वटा स्थानीय तह रहेका छन् । आगामी निर्वाचनका लागि मोरङमा ३ सय ६ मतदान स्थल र ८ सय ३९ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तहको निर्वाचनमा मोरङमा ३ सय मतदान स्थल रहेका थिए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी तथा म्यादी प्रहरी सहित साढे सात हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेगरि व्यवस्था मिलाइने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मोरङ जिल्लाले तराई तथा पहाडी भूभागलाई समेटेको छ ।
सुरक्षाको दृष्टिकोणले जिल्लाका ५० वटा मतदान स्थललाई अति सम्वेदनशील, १ सय ४४ वटा सम्वेदनशील तथा १ सय १२ वटा मतदान स्थललाई सामान्य मतदान केन्द्र तोकिएको छ । मतदान स्थल तथा जिल्लाको भौगोलिक अवस्थाको आधारमा सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ ।
मतदान स्थल तथा मतदान केन्द्रलाई नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी तथा म्यादि प्रहरी सहित चारवटा घेरामा राखिनेगरि व्यवस्था मिलाइने छ ।
निर्वाचनको समयमा मोरङ जिल्लाका पहाडी भेग लगायत जुनसुकै गाउँवस्ति केहि घटना घटे आधा घन्टा भित्र थप सुरक्षाकर्मी पुग्नेगरि सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
निर्वाचनका लागि मतदान स्थल लगायत हरेक ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने गरि व्यवस्था मिलाउने र यदि कतै कुनै घटना भएमा आधा घन्टा भित्र थप सुरक्षाकर्मी पुग्ने गरि हेलिकप्टरको व्यवस्था सहित सुरक्षाकर्मी हाई एर्लटमा राखिने उनले बताए ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमाक्षेत्र लगायत जिल्लाभरि सुरक्षा व्यवस्था सुदृढ बनाएको बताए ।
मोरङ जिल्लामा पहाडी क्षेत्र लगायत जुनसुकै ठाउँमा केहि घटना घटे तत्काल सुरक्षाकर्मी घटनास्थल पुग्ने गरि सुरक्षा व्यवस्था मिलाउन लागिएको उनले बताए ।
विराटनगर महानगरपालिका सहित सातवटा पालिका भारतको सिमानासंग जोडिएका छन् ।