विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए।उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी दिए। नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू–उपयोग अवस्था, भूमिको उर्वरता, जनसङ्ख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डीकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तक्र्रियामा जानकारी गराए । नगरमा भू–उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताए । उनले कृषि क्षेत्रका लागि न्यूनतम दुई का र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीयसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताए ।
यसअघि प्रचलित अब्बल, दोयम, सीम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरी नक्साङ्कन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताए ।