अनलाइन मार्फत सेवा विस्तार गर्दै धनपालथान गाउँपालिका
भदौ २३, २०७९ / नेपाल रेखा
कुमोद अधिकारी विराटनगर । सबै प्रकारका सेवा सहज तथा चुस्त बनाउन मोरङको धनपालथान गाउपालिकाले अनलाईन मार्फत सेवा विस्तार गर्न थालेको छ । पालिकाले शिक्षा स्वास्थ्य तथा पालिकाबाट प्रदान गर्ने सबै प्रकारका सेवालाई अनलाइन मार्फत विस्तार गर्न लागेको हो । त्यस क्रममा अनलाइन मार्फत कार्य संचालन गर्ने उद्देश्यले पालिकाले स्टोर मौज्दात इएलएमटिएस सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । पालिकाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै तीन दिनसम्म संचालन भएको तालिममा १० जना स्वास्थ्यकर्मीको सहभागिता थियो । धनपालथान गाउपालिकाको आयोजनामा भएको तालिममा प्रशिक्षकहरुले अनलाइन सेवावाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तालिममा सहभागीहरुलाई जानकारी गराएको पालिकाका स्वास्थ्या शाखा प्रमुख ऋषिराज सेठले जानकारी दिए । तालिम समापन कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले स्वास्थ्यकर्मीको दक्षता अभियवृद्धि गर्न तथा पालिकाले प्रदान गर्ने सवै प्रकारका सेवा सहज बनाउन अनलाईन मार्फत सेवा प्रदान गर्न लागेको बताए । धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले सुशासन तथा सेवालाई गुणस्तर र पारदर्शी बनाउन पनि अनलाइन सेवा आवश्यक रहेको बताए । पालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरुमा सेवा लिन आउने विरामीलाई ९२ प्रकारका औषधि निःशुल्क वितरण हुदै आएको छ । जस्का कारण अतिविपन्न, गरिव समुदायलाई राहत पुगेको छ । पालिकाले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वारुप ६ हजार तथा छोरा जन्माउने आमालाई दुई हजार रुपैया दिदै आएको छ । त्यस्तै पालिकाले एम्वुलेन्स सेवा तथा आवश्यक पर्दा रगत समेत निःशुल्क उपलव्ध गराउदै आएको स्वास्थ्य प्रमुख ऋषिराज सेठको भनाई छ ।