विराटनगर महानगरपालिकाले स्वेत पत्र जारी गर्दा तरंग
भदौ १०, २०७९ / नेपाल रेखा
कुमोद अधिकारी विराटनगर। विराटनगर महानगरपालिकाले विगत पाँच वर्षमा भोगेका चुनौती समस्याको समीक्षा तथा आगामी कार्यदिशाको वारेमा स्वेतपत्र–२०७९ शुक्रबार जारी गरेको छ । महानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले पछिल्लो पाँच वर्षमा आर्थिक सामाजिक तथा विकास निर्माणमा भएको उपलब्धि सहित सो अवस्थामा महानगरपालिकाले भोग्नु परेका समस्या कमी कमजोरी पक्षको तथ्य पुरक विश्लेषण गर्दै यथार्थ चित्रण सहित सहित स्वेतपत्र जारी गरेको हो । विगत पाँच वर्षमा खर्चको आकार अवलम्वन नगरि आवश्यकभन्दा वढि कर्मचारी भर्ना, महानगरपालिको मातहतमा रहेका जग्गाको उपयोग विहिन, विकास निर्माण सम्बन्धि आवश्यक उपकरणहरु बिग्रिएर प्रयोग विहिन भएको, महानगरपालिकाको लक्ष्यभन्दा राजश्व असुलीमा कमी आएको उपभोक्ताका हितका लागि बजार अनुगमन नभएको , विकास निर्माण कार्यमा न्युन र नाममात्रको जनसहभागिता भएकोजस्ता विषयलाई स्वेतपत्रमा उल्लेख गरिएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले १०६ पृष्ठ लामो स्वेतपत्र जारी गर्दै स्वेतपत्रले विद्यमान चुनौतीको सामना गर्न तथा महानगरपालिकाको सर्वाङ्गिण विकासका लागि संघ तथा प्रदेश सरकार विकास साझेदारीको सहयोग समेत परिचालन गर्दै महानगरलाई समवृद्धिको बाटोमा अघि वढाउन मद्दत पुग्ने बताए । महानगरपालिका प्रमुख कोइरालाले विगत पाँच वर्षमा महानगरपालिकाले भोगेका चुनौती र समास्याको समाधान गर्दै आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । महानगरपालिकामा नयाँ जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको ९० दिनमा महानगरापालिकाले नाला सरसफाई, फुटपाथ व्यवस्थापन, सरसफाई, सडक अतिक्रमण हटाउने, सडक वेसाहाराहरुको उद्धार तथा व्यवस्थापन जस्ता उल्लेखनीय काम गरेको भन्दै उनले सिंगिया खोलामा दिगो तटवन्ध तथा केशलिया खोलामा कोरिडोर स्थापनाकालागि महानगरपालिकाले प्रक्रिया अघि वढाएको उल्लेख गरे। लामो समयदेखि सफा हुन नसकेका महानगरपालिकाका क्षेत्रमा रहेका नालाहरु सरसफाई भएपछि यसवर्षको वर्षा याममा महानगरमा डुवान समस्या नभएको उनको दावी छ । सो अवसरमा बोल्दै महानगरापलिकाका उपप्रमुख शिल्पा निराला कार्कीले स्वेत पत्रले विगत पाँच वर्षमा महानगरापलिकाले भोगेको समस्यालाई वास्तविक चित्रण गरेको भन्दै आगामी दिनमा त्यस्ता कमिकमजोरी हुन नदिने र महानगरपालिको समग्र विकासमा जोड दिने बताइन् ।