सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई जग्गा दिइयो

  • भदौ १०, २०७९ / नेपाल रेखा
alt

संखुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो ।
समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरेको हो । भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो ।
जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार र घर बनाउन तीन किस्तामा पाँच लाख दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलव पाँच रोपनी ७० लाख र बखल्टुममा १७ दशमलव पाँच रोपनी ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ । उक्त जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो ।
पहिरो विस्थापितलाई मनसुनजन्य विपद् प्रभावितलाई पुनःस्थापना गर्नेसम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ । घर निर्माणका लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकेको जनाएको छ । सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको प्रजिअ खतिवडाले बताए। पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिङ्गो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । उक्त पहिरोमा परी ११ जना अझै बेपत्ता छन् ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]