मोरङ । ज्येष्ठ नागरिकको बाँकी जीवन सहज बिताउन विराटनगर महानगरपालिका–११ मा ज्येष्ठ नागरिक सामुदायिक भवन बनाइएको छ ।
भवन एवं जग्गा खरिदका लागि प्रदेश नं १ सरकारको पाँच लाख, विराटनगर महानगरपालिकाको ४० लाख र चिरञ्जीवी दाहालबाट निःशुल्क प्राप्त आठ धुर जग्गा र स्वदेश तथा विदेशका विभिन्न दाताबाट ९० लाख सहयोग प्राप्त भएको छ ।
सामुदायिक भवनको लागि १६ धुरजग्गा ६३ लाखमा खरिद गरी ७० लाखमा दुई हजार आठ सय वर्ग फिटमा एक सभा हलसहित भवन बनाइएको छ । सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई विज्ञद्वारा मनोरञ्जन, विभिन्न विषयमा ज्ञान प्रदान, भजनकीर्तन, आधुनिक प्रविधिको विषयमा जानकारी दिनुका साथै बिहान योग कक्षा सञ्चालन गरिने छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भवनको उद्घाटन गर्दै ज्येष्ठ नागरिक जिउँदो इतिहास र राष्ट्रका गहना भएकाले उनीहरूबाट प्राप्त अनुभव समाज र राष्ट्रको विकासमा लगाउनुपर्नेमा जोड दिए । भवन निर्माण र जग्गा खरिदका लागि तीन सय दाताले तीन लाख एक सय ११ देखि तीन सय ५८ सम्म सहयोग गरेका थिए ।