पर्वतमा रासायनिक मलको अभाव

  • साउन ३१, २०७९ / नेपाल रेखा
alt

पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका पर्वत जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् ।
बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् । जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख बिपीनप्रसाद शर्माले बताए ।
जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन् । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ । “मलको माग कति थियो कति”, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भनिन्, “पु¥याउनै सकिएन । अब कहिले आउने हो टुङ्गो छैन ।” कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलले युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताए । ‘अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो’, उनले भने, “त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।”
मकै छरेदेखि मल नपाइएको कृषकहरुको गुनासो छ । मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भने, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’ अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो । यो वर्ष मलकै आसमा धानखेती भित्र्याउनै नपाइने उनको गुनासो छ ।
फलेवास नगरपालिका–४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किर्एको गुनासो गरे । “३० किलो युरिया चाहिएको थियो,”उनले भने, “कोटा सकिएको रहेछ । पाँच किलो ल्याएर केमा सुघाउने ? अरू मल आएपछि एकै पटक छरौला भनेर राखेको छु ।” केहि दिन अघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुँईचो लागेको थियो । विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पुर्याएर वितरण गर्दै आएका बिहादी गाउँपालिका –३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गरे । नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताए । “मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,”उनले भने, “मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।”
मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन् । कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन् । “मल नपाएर मकै पनि भएनन्,” कुश्मा–९ का पुनाखर पराजुलीले भने, “धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।” रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरुको गुनासो छ । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरु समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षा नहुँनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]