‘विद्युतीय सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ’
श्रावण २६, २०७९ / नेपाल रेखा
कुमोद अधिकारी विराटनगर । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को रोयल अटो विराटनगरले बिक्री वितरण शुभारम्भ गरेकोे छ । उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीबाट प्रतिकिलोमिटर ९६ पैसा खर्चमा १३० किलोमिटर दूरी तय गर्ने छ । तीन वर्ष वारेण्टी रहेको व्याट्रीले एक लाख ५० हजार किलोमिटर सञ्चालन हुने रोयल अटोका प्रवन्धक उत्कृष्ट भट्टराईले जानकारी दिए । तराई तथा पहाडमा सहज रुपमा सञ्चालन हुने ट्रियोले इन्धन खर्च वापत (पेट्रोल) को वार्षिक तीन लाख २० हजार वचत गर्ने उनले बताए । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले ट्रियोको सार्वजनिकीकरण गर्दै मुलुकमा इन्धनमा हुने विदेशी मुद्राको खर्च वचत र स्वदेशी विद्युत खपतका लागि लागि इलेक्ट्रिक साना, ठूला सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । महेन्द्रा अटोका नेपालका वजार व्यवस्थापक प्रमोद भण्डारीले सन् २०१८ देखि उत्पादन शुरु भएको यो अटोले अहिलेसम्म छ करोड ३० किलोमिटर दूरी तय गरिसकेको जानकारी दिए । चालक सहित चार जना बस्ने सक्ने उक्त अटोको मूल्य आठ लाख ४० हजार रहेको छ भने बैंकको कर्जावाट समेत लिने सुविधा उपलव्ध रहेको रोयलले जनाएको छ ।