झापा । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । झापाको मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा. डा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले सो कृतिको लोकार्पण गरेका छन् ।
प्रा. डा. न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पु¥याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताए । स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा न्यौपानेको थियो ।
वि.सं. २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मिएका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।
सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह)लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यलाई थप मजबुद बनाएको साहित्यकार मिश्र बैजयन्तीले बताइन् ।
विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक भूमिकामा रहे । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकाकालागि लेख रचना सिर्जना गरेका थिए ।
सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका छन् ।