इटहरी । सामाजिक काममा सक्रिय रोटरी क्लब अफ इटहरीले उदयपुरको बेलका नगरपालिका क्षेत्रका २१ जना शारीरिकरुपमा अशक्त भएका मानिसहरूलाई ह्वील चियर बितरण गरेको छ ।
क्लबले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार बेलका नगरपालिकासंग सहकार्य गर्दै एक कार्यक्रमको आयोजना गरी बितरण गरेको क्लबका अध्यक्ष संजोग पराजुलीले बताए ।
केही दिनअघि रोटरी क्लब अफ इटहरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन अघि सम्पन्न भएको थियो । २६ औं पदस्थापन समारोहबिच क्लबका अध्यक्ष सन्जोग पराजुली, प्रेसिडेन्ट इलेक्ट माधव न्यौपाने, सचिव चेतन धमलालगायत पदाधिकारीहरुको पदस्थापन गरिएको हो । कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सिनियर रोटरियन बेनी गोपाल मुन्दडा, असिस्टेन्ट गभर्नर कमल अग्रवाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पदस्थापन भएर जिम्मेवारी पाउने वित्तिकै क्लबले स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरणलगायतका क्षेत्रको काममा आफूहरु क्रियाशिल हुन थालेको अध्यक्ष पराजुलीले बताए । इटहरी उपमहानगरपालिकासँगको समन्वयमा डायलसिस मेसिन सञ्चालन गर्ने क्लबको योजना रहेको छ ।