दीपक कार्की
धरान । धरानबासीलाई खानेपानी सहज रुपमा उपलब्ध गराउने तथा सफा सहर बनाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । नगरप्रमुख हर्कराजको अभियानमा श्रमदान गर्न टाढाटाढा देखि पनि मानिसहरु आइरहेका छन् । यही क्रममा विगत पाँच वर्ष देखिइटहरी सफाई अभियान सञ्चालन गर्दै आएको बुल्स इलेभेन क्लबका युवाहरु इटहरीबाट धरान पुगेर श्रमदान गरेका छन् ।
धरानबासीले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्ने मुल नारा सहित स्वतन्त्र उमेदवार बनेका हर्कराजलाई धरानवासीले पत्याए । उनले गठवन्धनमा रहेको नेपाली काँग्रेसका उमेदवार किशोर राईलाई निकटतम प्रतिस्पर्धी बनाउदै निर्वाचन जितेर धरान उपमहानगरपालिकाको नगरप्रमुख बन्न सफल भए । एकै पटक भएको निर्वाचनबाट विजयी भएका अन्य ठाउँका जनप्रतिनिधिहरु स्वागत तथा बधाई थाप्न दौडिरहेको समयमा हर्कराज भने खानेपानीका लागि मुहान खोज्न, संरक्षण गर्न पानी ल्याउने अभियान साथै नगर सफाई गर्ने अभियानमा आफैं सहभागी हुन थाले । नगरप्रमुख लगनशिलता र चुनावी एजेण्डालाई साकार बनाउने अभियानमा क्रमशः सहयोग जुट्न थाल्यो । देश विदेशबाट पनि नगरप्रमुख हर्कराजको अभियानमा सहयोग जुटिरहेकोछ । यही क्रममा धरानका जनताहरुले पानी पिउदै आएको निसाने खोलाको मुहान क्षेत्रमा इटहरीको बुल्स इलेभेनका १६ जना युवाहरुले सफाई गरेका छन् । नगरप्रमुखको खानेपानी तथा सफाई अभियान राम्रो लागेर सहयोग गर्न खोला सफाई गरिएको बुल्स इलेभेनका उपाध्यक्ष रामु राईले बताए ।
खोला सफाई कार्यमा जुटेको बुल्र्स इलेभेनका युवाहरुलाई स्थानीयले समेत सफाई कार्यमा सहयोग गरेका थिए । सफाई अभियानमा सहभागी बनेका स्थानीयहरुले नगरप्रमुख राईले सुरु गरेको अभियान राम्रो लागेकाले आफुहरु पनि सरसफाइमा सहभागी भएको स्थानीय रत्ना गुरुङ्गले बताइन् ।
नगरप्रमुख राईको अभियान सहयोग गर्न आफुहरु इटहरीबाट आएको सरसफाईमा सहभागी भएको बुल्स इलेभेनकी अभियान्ता मुना गहतराज बताउछिन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार हर्कराज राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएसंगै आफै खानेपानी र सफाई अभियानमा भौतिक रुपमै सहभागी हुदै आएका छन् ।