रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको आयोजना तथा झुम्का एफएम १०६ मेगाहर्जको सहजीकरणमा नगरपालिकाको मुख्य प्रशासनिक भवनको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । रामधुनीको आर्थिक बर्ष २०७८÷२०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी १८ जनाले बिबिध बिषयमा जिज्ञासा राखेका थिए । रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरीले प्रश्न कर्ताहरुलाई जवाफ दिदै नगरपालिकामा शसर्त अनुदानतर्फको काम भर्खरै शुरु भएकोले रकम ढिलो आएको बताए । उनले नगरपालिकामा देखा परेका समस्या समाधान गर्न आफू निर्वाचित भएर आएको बताए । सार्वजनिक सुनुवाइबाट जनप्रतिनिधिहरुमा सुद्धता आउने उनको विश्वास थियो ।
सार्वजनिक सुनुवाईमा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले आर्थिक बर्ष २०७८÷२०७८ को तेस्रो चौमासिक कार्यक्रमको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा प्रश्नकर्ताको जिज्ञासा बिषयमा प्रष्ट पार्दै काम भएको भुक्तानीका फायलहरु आएकोले अधिकतम प्रयास गर्दै फछ्र्याैटमा लाग्ने बताए । उनले भएको बजेटलाई प्रक्रिया पुर्याएर भुक्तानी दिने बताए । उनले प्रक्रिया नमिलेको कागजको भुक्तानी दिन नमिल्ने बताए । स्थानीय निर्वाचनले गर्दा चार महिनामा कुनै काम हुन नसकेको उनले स्वीकार गरे । प्रमुख प्रशासकीय अधिकृत थापाले कर्मचारीले कसैसंग रकम मागेको छ भने त्यस्ता कर्मचारीउपर आफूसमक्ष उजुरी दिन आग्रह गरे । उनले भने,–‘उजुरी परेमा गरे त्यस्ता कर्मचारीलाई कार्बाही गर्न तयार छु ।’
सोही नगरपालिका कार्यालयका शिक्षा प्रमुख राजन गेलालले निजी बिद्यालयले शिक्षामा ब्यापार गर्न नपाउने बताए । संविधानअनुसार कक्षा ८ र माध्यमिक तहसम्म शिक्षा निःशुल्क हुनु पर्ने उनको भनाई थियो । रामधुनी–३ मा रहेको जनता माबिमा आर्थिक अनियमितता भएकोमा शाखाको ध्यानाकर्षण भएको बताए ।
कार्यक्रममा रामधुनीका प्रशासकीय अधिकृत सुबोध निरौला, लेखा अधिकृत बिरेन्द्र सिग्देल, रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरी लगायतले नागरिकका प्रश्नको उत्तर दिएका थिए ।
कार्यक्रममा रामधुनी वडा नम्बर १ का अध्यक्ष महेश चौधरी, वडा नं. २ का अध्यक्ष रामनारायण चौधरी, वडा नं. ३ का अध्यक्ष बुधनारायण चौधरी, वडा नं. ४ का सचिब साबित्रा पराजुली, वडा न. ५ का अध्यक्ष लेखनाथ बास्तोला, वडा नं. ६ का अध्यक्ष शिबशंकर राजधामी, ७ नं. का वडा सचिव कमला अधिकारी, ८ का वडा अध्यक्ष सुरेन्द्र सिंहलगायतले वडाको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार धिरेन्द्रकुमार चौधरीले नागरिकको तर्फबाट प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाईमा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । साथै नवीनकुमार चौधरीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेकपा एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खडका, नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधि दिलु राई, नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीका अध्यक्ष बलराम चौलागाईं, सेभ द अर्थका पुष्प भट्टराई, प्याब्सन रामधुनीका अच्युत ढकाल लगायतको सहभागिता रहेको थियो ।
