कुमोद अधिकारी
विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ ।
१० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले सोमबार एक समारोहका बीच सपथ ग्रहण गराएकी छन् । कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सपथग्रहण गराएकी हुन् । नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् देउजा विराटनगर ९ की वडा सदस्य हुन् । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गर्न नवनियुक्त सदस्यहरुलाई आग्रह गरेकी थिइन्। उनले न्यायिक समितिमा महानगरवासीले दिएका उजुरीलाई छिटो र छरितो रुपमा सम्पादन गर्दै जाने बताइन् । त्यसैगरी नवनियुक्त समितिका सदस्य नेउपानेले विगतको अनुभवलाई समेत आत्मसात गर्दै निष्पक्ष र तटस्थ ढंगले न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । सदस्यहरुको सफथग्रहणसँगै सोमबारदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको कानुन शाखाकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् । उनका अनुसार हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ । समितिमा विशेष गरी अंश, जग्गाको सीमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायतका उजुरीहरु बढी दर्ता हुने गरेको छ ।
न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा उजुरी दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत थपलियाले जानकारी दिइन् ।