मोरङ । स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले स्वास्थ्य सम्बन्धि प्रदेश स्तरीय पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम वुधबार विराटनगरमा सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाको आयोजनामा भएको सो कार्यक्रमा प्रदेस नं. १ का विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश सरकारले दुर्गम हिमाली तथा पहाडी जिल्लाहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरि यस पटकको वजेटमा व्यवस्था गरेको बताए ।
उनले कुल वजेटको ९ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुटयाइएकाले प्रदेश १ का हिमाली पहाडी तथा तराइका सबै वडाहरुमा स्वास्थ्य केन्द्र तथा वर्थिङ सेन्टर संचालनमा ल्याइने बताए । सरकारले प्रवाह गरेको निःशुल्क स्वास्थ्य सेवा लक्षित वर्गसम्म पुग्न नसकेकाले यस्ता सेवाबारे स्थानीय स्तरमा जानकारी गराउन पत्रकारहरुले कलम चलाउनुपर्नेमा उनले जोड दिए । उनले प्रदेश सरकारले सबै जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई थप व्यवस्थित बनाउने बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्चन्दले आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रमा जनशक्ति नहुदा समस्या हुने गरेको बताए। प्रदेश १ मा ४७ प्रतिशत दरबन्दि रिक्त रहेकाले आवश्यकता अनुसार स्वास्थ्यकर्मीको रिक्त दरबन्दि चांडै पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको बताए । कोभिड–१९ का कारण स्वास्थ्यको महत्व झनै बढेकाले अहिलेको अवस्थामा स्वास्थ्य सम्वन्धि चेतना फैलाउने गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।
सिमित साधन श्रोतका बाबजुद पनि करार तथा अस्थाई दक्ष स्वास्थ्यकर्मी राखेर भएपनि निर्देशनालयले प्रदेश १ मा उल्लेखनीय काम गरिरहेको उनको दाबी थियो ।
कार्यक्रममा निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले निर्देशनालयले प्रदेश १ मा गरेको काम तथा प्रदेशको स्वास्थ्य अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे, स्वास्थ्य खबर मन्चका महासचिव भिषा काफ्ले लगायतले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए ।