जनक पाण्डे / इटहरी । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिमाका बिरामीले ओपीडी टिकट लिन घण्टांै दोहोरो लाईन बस्नु पर्ने बाध्यता बनेको छ ।
बिमा कार्डमार्फत ओपीडी टिकट दर्ता गराउने बिरामीका लागि आउट डोर पेइसन्ट टिकट काउन्टरमा एउटै लाईनबाट सेवा उपलब्ध नहुँदा एकै प्रकृयाका लागि पटक–पटक लाईन बस्नु पर्दा बिरामी र आफन्तले दुःख पाउने गरेका हुन् ।
स्वास्थ्य क्षेत्रमा प्रदेश एक कै प्रतिष्ठित मानिएको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, घोपा क्याम्मको ब्यवस्थापकीय कमजोरीका कारण बिरामी र बिरामीका सहयोगी आफन्तहरुले दुःख र झन्झट खेप्नु परेको यो पहिलो घटना नभएको बिरामीका आफन्तहरु बताउँछन् ।
आफ्नो नियमित जाँचका लागि आएकी बराहक्षेत्र नगरपालिका वडा नं. ५ कालाबन्जारकी लक्ष्मी श्रेष्ठ दोहोरो लाईन बस्नु पर्ने भएकोले आफ्नो श्रीमान कुमार श्रेष्ठलाई नजिकै अर्को लाईनमा समेत उभ्याएको बताउँछिन् । दुइटा लाईन नबसी डाक्टर भेट्न समय नपुग्ने हुनाले श्रीमानलाई पनि लाईनमा उभ्याएको लक्ष्मी श्रेष्ठ बताउँछिन् ।
त्यस्तै छोरी भूमिका काफ्लेको उपचारका लागि आएकी बराहक्षेत्र–७ चक्रघट्टीकी साबित्रा काफ्लेले पनि ओपीडी टिकट लिन आफुहरु दुईजना लाईन बस्नु परेको बताउँछिन् । अस्पताल प्रशासनको कमजोरी भन्दै–‘धेरै ठाउँमा यस्तै झन्झटिलो प्रकृया भएकोले परिवारमा एक जनालाई उपचार गराउन पूरै परिवारनै आउनु पर्ने अवस्था रहेकोले अस्पतालमा झन धेरै भिडभाड बढेको’ बराहक्षेत्र– ७ चक्रघट्टीकी काफ्लेको तर्क छ ।’
अर्कोतिर भिडभाड बढेको भन्दै अस्पतालका सुरक्षा गार्डले बिरामी र बिरामीका सहयोगी आफन्तलाई एकैपटक दुईटा लाईन बस्न नमिल्ने भन्दै लाईनबाट हटाउने गरका बिरामी र आफन्तहरु बताउँछन् । यस्तो लाईनबाट हटाउने क्रममा कहिलेकाँहि बिरामी आफन्तहरु दुब्र्यवहारको सिकार हुने गरेको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० की तुलसा चौहान बताउँछिन् ।
सेवालाई छिटो छरितो बनाउन बिरामीका आफन्त सहयोगी लाईन बस्न मिल्ने अस्पताल प्रशासनका इन्चार्ज कमल रायामाझी बताउँछन् । साठी बर्ष कटाएका नागरिक लगायत सुत्केरीले सेवामा प्राथमिकता पाउने भन्दै यस बिषयमा सुरक्षा गार्डलाई निर्देशन गरिसकेको पनि इन्चार्ज रायामाझी बताउँछन् ।
साँघुरो स्पेसका कारण भिडभाड बढेर कार्यप्रणाली अस्तब्यस्त भएको देखिने बताउँदै ओपीडी बिभागलाई स्थलगत अध्ययन गरेर फराकिलो ठाँउमा ब्यवस्थापन गर्ने बारे पनि ईन्चार्ज रायामाझीले बताएका छन् । ईन्स्योरन्स सेवा लगायतका सेवालाई प्रबिधि मैत्री बनाउन अस्पताल प्रसाशन लागि परेको र यस पश्चात सेवा सहज रहने इन्स्योरन्स बिभागका ईन्चार्ज सुरेस ढुंगाना बताउँछन् ।
यसैबिच नियमित जाँचका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान घोपामा गएकी पथरी शनिश्चरे नगरपालिका वार्ड नं. १० की तुलसा चौहान बुधबार नर्सको दुब्र्यवहारमा परेकी छिन् ।
बिमा कार्ड मार्फत ओपीडी दर्ता गराउन जाँदा कागजात नपुगेको भन्दै बिमा ओपीडी काउन्टरमा कार्यरत स्टाफनर्स मन्जु शाहले पथरी नगर अस्पतालले उपलब्ध गराएको बिरामी सिफारिस प्रेशण पत्र फालिदिँदा पथरी १० की चौहान दुब्र्यवहारमा परेकी हुन् ।
बिमा सदस्यता नं.०३१–१७५–१५२ लेखिएको पथरी नगर अस्पतालको बिरामी सिफारीस प्रेशण पत्र लगायत दर्ता गर्नुपर्ने ओपीडी टिकट स्टाफनर्स शाहले फ्याकीदिएकी थिइन् ।
चौहानले अस्पताल ईन्स्योरन्स बिभागका क्लर्क संग आफ्नो कार्ड छुटेको तर फोटोकपी रहेको बताएकी थिईन । अस्पतालमा रहेको ईन्स्योरन्स डेस्क बाट आफ्नो बिमा सदस्यता नम्बर निश्चित गराई ईन्स्योरन्स बिभागको सिफारिसमा ओपीडी टिकट काउन्टरमा गएकी थिइन् । तर उनको काम नहुने भन्दै स्टाफनर्स शाहले पथरीकी चौहानलाई सेवा लिनबाट बन्चित गराएपछि ईन्स्योरनस बिभागका क्लर्क लगायत ईन्चार्ज सुरेस ढुंगानाको सहयोगमा तुलसा चौहानले ओपीडी टिकट दर्ता गराएकी थिइन् ।