इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले समतामुलक शिक्षामा सरकारले लगानी गरिरहेको बताउनु भएको छ ।
सुनसरीको इटहरीमा शुक्रबार नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै मन्त्री पोखरेलले विपन्न वर्गलाई प्राविधिक शिक्षा दिएर दक्ष बनाउन सरकार लागि परेको बताउनु भयो । मन्त्री पोखरेलले विपन्न समुदायलाई प्राविधिक शिक्षासँग जोडेर गरिबीलाई सुन्यमा झार्ने सरकारको लक्ष्य रहेको पनि जानकारी दिनु भयो । उहाँले जिवनको आवश्यकतासँग जोडेर प्राविधिक शिक्षा दिने अभियान स्थानीय तहदेखि नै सुरु गरिएको पनि प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो–‘७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्नु पर्छ, यो क्रम निरन्तर चलिरहेको छ ।’ प्राविधिक शिक्षाले विद्यार्थीलाई उत्पादनसँग जोड्ने हुनाले स्थानीय तहदेखि नै प्राविधिक शिक्षाको आवश्यकता रहेको मन्त्री पोखरेलको भनाई थियो । मन्त्री पोखरेलका अनुसार प्राविधिक जनशक्तिले मात्र देशको समृद्धिको लक्ष्यलाई हासिल गर्न सक्छ । मन्त्री पोखरेलले भन्नुभयो–‘अब बैदेशिक रोजगारीमा जानसमेत प्राविधिक शिक्षा अनिवार्य भइसकेको छ, त्यसैले तल्लो तहदेखि नै प्राविधि शिक्षा दिन थाल्नु पर्छ ।’
उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले प्रतिष्ठानहरुलाई देखाएर प्राविधिक शिक्षाको व्यापार गर्ने थलो नबनाउनसमेत चेतावनी दिनु भएको छ । उहाँले भन्नुभयो यदि त्यस्तो गरेको पाइएका हामी टुलुटुलु हेरेर बस्दैनौं । उहाँले प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउनु पर्ने कुरामासमेत जोड दिनु भएको छ । उहाँले पूर्वाधार बिना नै प्राविधिक शिक्षाको अनुमति दिएको भन्ने प्रश्नको जवाफ फर्काउँदै त्यसो भन्नेहरुलाई भौतिक संरचना हेर्न जानसमेत भन्नु भएको छ । उहाँले प्राविधिक शिक्षालयहरुलाई अघि बढाउन प्रशिक्षकहरुको आवश्यकतामा जोड दिनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरेले भने प्राविधिक जनशक्ति जति उत्पादन गरे पनि त्यस्तो जनशक्ति अझै बेरोजगार हुनु परेकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो–‘प्राविधिक तालिम लिएकाले रोजगार पाएनन् ।’ प्रदेश १ र २ का प्राविधिक शिक्षा विज्ञहरुको ठुलै जमघट भएको कार्यक्रममा प्राविधिक जनशक्तिलाई कसरी रोजगार दिन सकिन्छ भन्ने सुझाव समेत मन्त्री घिमिरेले माग्नु भएको छ ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पार्टीका सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले प्राविधिक शिक्षालयहरुकोबीचमा संचालनमा आएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले भिन्न पहिचान दिन सक्नु पर्ने बताउनु भएको थियो । उहाँले भन्नु भयो–‘यस शिक्षालयमा गरिब जनताका छोराछोरीले सर्व सुलभ ढंगले पढ्न पाऊन् ।’ प्रतिष्ठानका अध्यक्षसमेत रहेका निर्मल बरालले प्राविधिक शिक्षालयको अनुमति दिएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सो शिक्षालय नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा संचालनमा ल्याइएको शिक्षालय प्रमुख अर्जुन उप्रेतीले बताउनु भयो ।

