१ सय बेडको आइशोलेसन संचालनसँगै स्वास्थ्य केन्द्रको भवन पनि बनाउन सुरु

  • असोज ४, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरीमा सय वेडको आइसोलेसन संचालन हुने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम बस्नेत तथा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सहयोगी कार्यालय संघ, संस्थाका प्रतिनिधि सहित बैठक बसेको हो । 119724462_10219579040679358_2744933935484225442_n
बैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गर्नु भयो । इटहरी उपमहानगरको कार्यपालिका बैठकले आइसोलेसन संचालनको जिम्मेवारी पनि भूपेन्द्र बराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमितिलाई दिइसकेको छ ।

119776929_10219579040999366_6645660374011293071_n
उपसमिति संयोजक भूपेन्द्र बरालका अनुसार इटहरी रंगशालामा १६ वटा शौचालय, ४ वटा वाथरुम, २ वटा लुगाधुने ठाँउ सहितको आइसोलेसन निर्माण गरिएको छ । लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी जडान गरिएको छ । खानेपानी र विद्युतको उचित प्रवन्ध गरिएको छ । त्यहाँ ८ जना स्वास्थ्यकर्मी र ३ जना सफाइकर्मी खटिने छन् । सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिने छ । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रकम सहयोग गरेको थियो । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण र सञ्चालन गर्न लागेको हो । संचालनका लागि ठूलो खर्च लाग्ने भएकाले सहयोगका लागि उपसमितिले आग्रह समेत गरेको छ ।
त्यसैगरी, इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पुर्याउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्तर्गत आइतबार इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गर्नु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरी भवन निर्माण गर्न निर्देशन दिनु भयो ।
उहाँले केहि दिन भित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिनु भयो । उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गरिएको भवनबाट यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने बताउनु भयो । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको जानकारी पनि उहाँले दिनु भयो ।
वडाध्यक्ष चन्द्र भट्टराईले वडा नम्वर ४ बाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुसी ब्यक्त गर्नुभयो । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २ सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिनु भयो ।

2
स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अब इटहरीका वडा वडामै पाउने गरी काम अघि बढेको जानकारी दिनु भयो । उहाँका अनुसार यहि आर्थिक वर्षमा १४ वटा भवन निर्माण गरिने छ ।
अहिले १० वडामा स्वास्थ्य संस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा संचालित छन् । यो आर्थिक बर्षभित्र सबै वडाहरुमा स्वास्थ्य सस्थाहरु स्थापना भइसक्ने उहाँले जानकारी दिनु भयो ।
नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको बताउनु भयो । निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समयअघि नै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो । सोही कार्यक्रममा वडा सदस्य लक्ष्मी शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
इटहरी अस्पताललाई दुई वटा एम्बुलेन्स हस्तान्तरण
सुनसरीको इटहरी उपमहानगरले इटहरी ९ नम्बर वडामा अवस्थित इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र बराललाई उम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । बराल ९ नम्बर वडा अध्यक्षसमेत हुन् । त्यसैगरी, उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मनिश शर्मालाई अर्को एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभयो । यी दुबै एम्वुलेन्सको प्रयोगबाट अहिलेको विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्वारिकलाल चौधरीले बताउनु भयो । कोभिड–१९ बाट संक्रमित बिरामीलाई आइसोलेसनसम्म पुर्याउन तथा अस्पताल लैजान एम्वुलेसन्स प्रयोग गरिने प्रमुख चौधरीको भनाई छ । आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाँडै प्रयोगमा ल्याइने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताउनु भयो ।
इटहरी भित्रको सरकारी अस्पतालको रुपमा स्थापित इटहरी अस्पतालले आफ्नै एम्बुलेन्सबाट सेवा प्रदान गर्ने भएपछि इटहरीवासीमा खुसी थपिएको छ ।
एम्बुलेन्स खरिदकालागि स्थानीय सरकार र प्रदेश सरकारले सहकार्य गरेका छन् ।
हाल इटहरी उपमहानगर क्षेत्रमा इटहरी अस्पतालसहित चारवटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य एकाई र एउटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र संचालनमा छन् । तीव्र शहरी विकास भएर पनि सुविधा सम्पन्न सरकारी अस्पतालको अभाव कायमै रहेपछि इटहरी उपमहानगरपालिकाले अस्पतालको स्तरोन्नतीको काम आगाडि बढाइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी सहितको ओ.पि.डी सेवा उपलव्ध इटहरी अस्पतालमा थप नयाँ आवश्यक उपकरण सहित तथा शैय्या समेत थप गरी विशेषज्ञ सेवा उपलव्ध गराउने योजनासमेत बनाइएको अस्पतालका इमेरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।
इटहरी अस्पताललाई आगामी दिनमा नमूना अस्पताल बनाउनेदेखि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने साथै दक्ष जनशक्तिहरू खटाउने तयारी भइरहेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताउनु भयो । अस्पतालहरूको स्तरोन्नती र सेवाहरूलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट समेत बिनियोजन गरिएको जनाइएको छ ।
त्यस्तै हालै इटहरी अस्पताल परिसर भित्र २३ कोठे नयाँ भवन निर्माणको कार्य अगाडी बढिसकेको जानकारी गराउदै उपमेयर गौतमले भन्नु भयो्,‘अस्पतालका लागि आगामी आर्थिक वर्षमा उल्लेख्य रकम खर्च गरेर सेवाहरूलाई थप प्रभावकारी बनाइने साथै विकास र स्तरोन्नती गरिने छ ।’
आगामी आर्थिक वर्षमा इटहरी अस्पताल मार्फत् ५० वर्ष माथिका नागरिकको मुटु, सुगरलगायतका रोगको निःशुल्क परीक्षण र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको सम्पूर्ण रोगको परीक्षण गर्ने तयारीेमा अस्पताल टिम लागि परेको बताइएको छ ।
चालु आर्थिक वर्षबाट इटहरी अस्पतालको स्तरोन्नतीका साथै खनार स्वास्थ्य चौकीमा ल्याव र बर्थिङ्ग सेन्टरको स्थापनासहित २० मध्ये १९ वटा वडामा आधारभूत शहरी स्वास्थ्य सेवा केन्द्र संचालनका लागि भवन निर्माणको काम समेत प्रारम्भ भइसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

1
इटहरी वाडा नम्बर २ र १७ मा रहेका आयुर्वेद औषधालयका चिकित्सक र स्वास्थ्यकर्मीहरूबाट थेरापी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन सेवा प्रदान गरिँदै आएकोमा आयुर्वेदिक औषधालयहरूमार्फत् प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने थप स्वास्थ्य सेवा विस्तार गर्ने र वाडा नं. १ मा नयाँ आयूर्वेद तथा प्राकृतिक चिकित्सा स्वास्थ्य केन्द्रको स्थापना गरी संचालन गर्नेसमेत उपमहानगरपालिकाको योजना छ ।
इटहरी नगर क्षेत्रमा रहेका गरीब, दलित तथा विपन्न परिवारले सहज र सरल उपचार प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी आर्थिक वर्षमा एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिने उपमहानगरकी उपमेयर गौतमले जानकारी दिनु भयो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]