बन्दाबन्दीको पुनराबृत्ती

  • साउन ३०, २०७७ / "नेपाल रेखा"
alt

विश्वव्यापी रुपमा देखिएको कोभिड–१९ को बढ्दो प्रभावलाई अपेक्षित रुपमा रोकथाम गर्न सन्सारभरिका राष्ट्र राज्यहरुले भगिरथ प्रयत्न गरिरहेका बेला नेपालमा २०७६ चैत्र ११ गते देखि लागू भएको बन्दाबन्दी करिव ४ महिना पछि अर्थात २०७६ साउन ८ गते देखि अन्त्य भएकोमा नेपाल सरकारले पुनः बन्दाबन्दीको स्वरुप परिवर्तन गरी निश्चित क्षेत्र र स्थानमा स्थानीय प्रभाव र असरका आधारमा स्वयं स्थानीय सरकारले नै आवश्यकता महसुस गरी बन्दाबन्दी घोषणा गर्ने नीतिगत परिवर्तन गरेको हुँदा मुलुकमा अन्त्य भएको बन्दाबन्दी पश्चात अस्वभाविक र असुरक्षित आवागमनका कारणले रोगको संक्रमण समुदाय स्तरमा फैलिएको प्रष्ट छ ।


लामो समय सम्मको बन्दाबन्दीका विचमा तीनै तहका सरकार, विशेषज्ञ, सामाजिक अभियन्ता, राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदेश सरकार, प्रदेश सरकारसंग आवद्ध प्रसाशनिक निकायहरु, स्थानीय सरकारहरुले एक अर्कामा सग्लो र यथेष्ट प्रयास गरी भविष्यमा आउन सक्ने चुनौतितर्फ कुनै चासो, सरोकार, योजना, नीति, कार्यक्रम तथा तदारुकताहरु उल्लेखनीय रुपमा अपनाइएको पाइएन ।

यसर्थमा सरकारका सबै अंगहरु जनताप्रति अनुत्तरदायी र चुनौतिका सामुन्नेमा सिथिल देखिए । के ? आधुनिक सरकारहरु यस्तै हुन्छन् ? राजनीतिक विचारधारा र चिन्तनले आधुनिक राष्ट्र राज्यका सरकारको निर्माण आवधिक निर्वाचनबाट घोषणा पत्रको औचित्य प्रमाणित गर्नका लागि नियमितता, गतिशिलता, रुपान्तरणको द्योतकको रुपमा सरकारको समष्टिगत श्रृङ्खलाको अनुभूति गर्नका लागि संस्थागत भएको हो । आधुनिक राज्यका सरकारहरुको स्वरुप लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम तत् तत् राजनीतिक दलहरुले अवलम्बन गरेको बैचारिक पृष्ठभुमिको सार्थक स्वरुप हो । जनताका सामुन्ने गरेका बाचा बन्धनहरु राजनीतिक दलको स्वार्थ हो । त्यस्तो स्वार्थ परिपूर्ति गर्ने निष्ठानै राजनीतिक दलको लक्ष हो । त्यस्तो लक्षबाट आधारभूत समीक्षा र विश्लेषणका तहबाट सार्थक भएका विषयवस्तुहरु समावेश भएको नीति तथा कार्यक्रम सरकारले लक्ष प्राप्ती गर्ने आधारहरु हुन् । तर नेपालमा बर्षौ देखि योजना, नीति तथा कार्यक्रम बन्ने गरेका छन् दिगो समीक्षा कहिल्यै भएको देखिएन । हरेक योजना तथा नीति कार्यक्रमहरु भूतलक्षित भएका हुँदा भविष्य लक्षित चुनौति संग मुकाविला गर्ने सार्थक नीति तथा कार्यक्रम जनसामुन्ने कहिल्यै आउन सकेन । कोरोना माहामारीको यस कठिन घडीमा पूर्वचरित्र नै दोहरिएको छ ।

यस अर्थमा सरकार जनता प्रति उत्तरदायी देखिएको पाइएन । सरकार सनातन लाभ र हानीको विषयमा निर्लिप्त भएको देखिन्छ । आधुनिक सरकार आधुनिक चुनौतिको सामना  गर्ने प्रज्ञानताबाट स्पष्ट छैन । यसैले अन्य मुलुकका सरकारहरुजस्तै छलकपट, छद्मभेषि कु–संस्कृति र राजनीतिक निष्ठाको दिवालिया तिर उन्मुख भएको देखिन्छ । बैधानिकता मताधिकारलाई मानेता पनि कालान्तरमा सरकार प्रतिको निष्ठा र जनाधार गुमेको देखिन्छ । के ? नेपाली लोकतन्त्रमा नेतृत्वको अभाव हो ?
कमजोर प्रतिपक्षी निष्ठाहिन सरकार नेपाली जनताको उपहार भएका छन्, प्रमुख प्रतिपक्षीको भूमिका सडक र सदनमा रचनात्मक र प्रभावकारी देखिएन । आर्थिक विधेयक लगायत अनगिन्ति विधेयकहरुको दफावार छलफलमा प्रमुख प्रतिपक्षीको
भूमिका निष्कृय देखियो । संख्याका दृष्टिले न्यून सांसद सदस्य भएको प्रमुख प्रतिपक्षीको सीप, कौशलता र क्षमता बैज्ञानिक देखिएन । अन्तर्राष्ट्रिय राजनीतिसंग अन्तर सम्बन्धित राष्ट्रिय मामलाहरुको बारेमा प्रतिपक्षीको भूमिका प्रगाढ भएन । लोकतन्त्रमा सत्ता सरकारको हो भने संसद प्रतिपक्षीको हुने गर्दछ ।


संसदीय लोकतन्त्रमा कानून र प्रणालीले प्रतिपक्षी बनाउने स्वभाविक विशेषता भए पनि आचरण र संस्कृतिले रचनात्मक, प्रवल र योगदानकारी भूमिका प्रतिपक्षको कहिल्यै देखिएन । यसअर्थमा संसदीय लोकतन्त्रमा नेपाली राजनीतिले संसदीय सभ्यता र संस्कारको विकास गर्न सकेन । जनता र संसदप्रति उत्तरदायी हुने प्रधानमन्त्रीले संसदको सम्बोधनमा गम्भीरता प्रकट गरेको कहिल्यै देखिएन । सत्ता उन्मादले भरपुर शब्दावलीहरु अस्वभाविक व्यङ्ग्य, उखान टुक्का, सबाल जबाफका सार्थक उपागमहरु मानिए । संसदमा प्रस्तुत भएका विषयहरु प्रति गहिरो अध्ययन अनुसन्धान, तथ्याँक र बैज्ञानिकताका साथमा जबाफदेही पूर्ण प्रत्याभूति सरकारको जिम्मेवारीमा परेन । सरकार कथित तथ्यांक र प्रतिकृयात्मक जनमत बनाउने लक्ष्यतर्फ उन्मुख भएको देखियो ।


समाजबादी लोकतन्त्रका आधारभूत सिद्धान्तहरुको साथमा विनियोजन हुने आर्थिक नीति र कार्यक्रमहरु पूँजीबाद र सामन्तवादका प्रेरक बनेका छन् । हुँदा खाने र हुने खानेका विचमा अस्वभाविक खाडल तयार भएको छ । यसको मौजुदा अवस्था कोरोना संक्रमणमा देखिएको वितरण प्रणालीले प्रष्ट पारेको छ । सरकारी निकायमा रहने सवै मानिसहरुको र राजनीतिक कार्यकर्ताहरुको हातमा लाभ पुगेको छ । तर निमुखा जनताहरु माउले चारो ल्याउने आसमा गुंडमा बसेका बच्चा जस्तै भएका छन् । आश स्वयंमा आश भएको छ । भरोसा मृत्यू र अभावको नजिक छ । अब सरकारको उत्तरदायित्व के हो ? नीतिगत रुपमा फेरिएको बन्दाबन्दी निवस्त्र भएको छ, सरकार नाङ्गििनुको औचित्य सामाजिक रुपमा प्रष्ट भएको छैन । प्रमुख प्रतिपक्षी सन्नाटामा सुतेको मृत शरीर भएको छ के संसदीय प्रजातन्त्रमा सरकार र प्रमुख प्रतिपक्षीको अंगहरु समानान्तर चल्नु पर्ने होइन ? मताधिकारको सरकार र प्रतिपक्षी दुवैका विचको उत्तरदायित्वको औचित्य समान नै हो । उन्नत संसदीय लोकतन्त्रको अभ्यास भएका मुलकुहरुमा प्रतिपक्षी अध्ययन, अनुसन्धान, विश्लेषण, समीक्षा र प्रस्तुतीले सदन भित्र मौलिक भूमिका खेल्दछ भने सरकार उक्त कुराहरुको सम्पुष्टि र कार्यान्वयनको द्योतक बन्दछ । त्यसैले सरकार दाया तिर र प्रतिपक्षी वायाँ तिर हो । वायाँ बस्नेहरुलाई परिवर्तनकारी, रुपान्तरणकारी र क्रान्तिकारी स्वभावबाट सांकेतिक दर्जा  (leftist) भनियो । नेपालमा वामपन्थीहरु क्रान्तिकारी परिवर्तनकारी र रुपान्तरणकारी हुन्छन् भन्ने कुरा मात्र शास्त्रीय शब्दावली प्रतित भएको छ । प्रमुख प्रतिपक्षी भूमिकाहिन गन्तव्यहिन देखिन्छ ।

यी दुवै राजनीतिक दलहरुको सरकार र सदनको चरित्र प्रतिपक्ष र सरकारमा हुँदाको अवस्था समय मापनका दृष्टिले बराबरी नै देखिन्छ तर अग्रगामी संस्कृति दुवैले गुमाएको अवस्थामा पश्चगामी चरित्र, भ्रष्टाचार, कमिसन, अनियमितता यी दुवै दलका साझा उपलब्धी भएको प्रष्ट छ । कुनै राजनीतिक दलको कार्यकर्ता हुनु दास हुनु हो भन्ने मानसिकताबाट फराकिलो बैचारिकता र अन्तरपार्टी लोकतन्त्रको विकासको कमिका कारणले दलका नेताहरुको लवी उन्मुख चरित्र कार्यकर्ता बनाउने कारखाना सावित भएको छ । कारखानाबाट उत्पादन भएको कार्यकर्ता अमूर्त र कृतिम हुने हुँदा स्वभाविक जनउत्तरदायी नेतृत्व नेपाली जनताले प्राप्त गर्न सकेनन् । साना दलहरु साक्षी किनारामा सिमित छन् । चेतना भया ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]