बिराटनगर, औद्योगिक केन्द्र भनेर चिनिने मोरङग जिल्लामा 'द लेप्रोसी मिशन नेपाल' (TLM Nepal) ले साझेदार संस्थाहरु राष्ट्रिय अपाङग महासंघ नेपाल (NFDN) र उद्योग बाणिज्य महासंघ नेपाल (FNCCI) को सहकार्यमा ''रोजगारबिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर'' (FOUND) परियोजना शुरुवात गरेको छ । FOUND परियोजना बिराटनगर क्लष्टर कार्यालयले परियोजनाको विस्तृत परिचय, गतिविधी तथा उद्देश्य जानकारी गराउनुका साथै सरोकारवाला संस्थाका प्रतिनिधीहरु विच अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको रोजगारीको अवस्थाका वारेमा छलफल गर्न आज दिउँसो ZOOM APP मार्फत एक अन्तरकृयात्मक कार्यक्रम संपन्न गरेको छ ।
बिराटनगर महानगरपालिकाका सामाजिक विकाश महाशाखा प्रमुख सरोज गौतमको विशेष आतिथ्यतामा संपन्न उक्त कार्यक्रममा महाशाखा प्रमुख गौतमले परियोजना कार्यान्वयनका लागि महानगरपालिकाका तर्फवाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष, गैसस महासंघ का अध्यक्ष, एनएफडिएन प्रदेश १ का अध्यक्ष, उद्योग वाणिज्य महासंघ प्रदेश १ का सचिव लगायतको सहभागिता रहेको सो कार्यक्रममा मोरङमा कार्यरत प्रदेश तथा जिल्ला तहका विभिन्न संस्थाका प्रतिनिधीहरुले शुभकामना प्रदान गर्नुभएको थियो । यस्तै राष्ट्रिय अपाङग महासंघ नेपाल तथा करुणा फाउन्डेसन लगायत अपाङ्गतासंग संवन्धित संस्थाका प्रतिनिधीहरुले आवश्यकताका क्षेत्रहरु पहिचान गरी सहकार्य गर्नु पर्नेमा जोड् दिनु भएको थियो ।
FOUND परियोजना निर्देशक चीरञ्जीवी शर्माका अनुसार 'द लेप्रोसी मिशन' (TLM) ३० भन्दा बढी देशहरूमा सक्रिय एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो, जुन १९५७ देखि ललितपुरको दक्षिणी भेग लेलेमा आनन्दवन अस्पताल स्थापना गरेदेखि हालसम्म नेपालमा कार्यरत छ । यद्यपि TLM International र नेपाल सरकारको साझेदारीमा सन् २००५ देखि TLM Nepal ले एक स्वतन्त्र गैरसरकारी संस्थाको रूपमा विशेष गरी स्वास्थ्य र अपाङ्गता, समावेशी विकास, अनुसन्धान र पैरवी जस्ता गतिविधिहरु संचालन गर्दै आएको छ ।
यस्तै परियोजनाको वारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै द लेप्रोसी मिशन क्लष्टर म्यानेजर बिपिन दासले यो परियोजनाले सवै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने वताउनुभयो । वेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग (DFID) र TLM England Wales को संयुक्त सहयोगमा संचालित यस परियोजनाले नेपालका ५ वटा जिल्लाहरु (मोरङ, ललितपुर, काठमाडौं, रुपन्देही र कपिलवस्तु) मा अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ औपचारिक रोजगारीका लागि सहजीकरण एवं स्वरोजगारीका निम्ति विविध कार्यक्रमहरु संचालन गर्नेछ । साथै रोजगारदाताहरुलाई पनि अपाङ्गता भएका व्यक्तिहरुको प्रमाणित सीप र कार्यदक्षताको उदाहारण प्रस्तुत गरी, वातावरणीय व्यवधानलाई न्यूनीकरण गर्न सकेमा उनीहरुले पनि अरु सरह नै कार्य गर्न सक्दछन् भन्ने विश्वास दिलाउनेछ ।
कोभिड-१९ को महामारीका कारण देशभरि नै बन्दाबन्दीको स्थिती सृजना भएकोले हाल प्रत्यक्ष भेटघाट कार्यक्रम आयोजना गर्न नसकिएको यद्यपि आगामी दिनमा परियोजनालाई कसरी अगाडि बढाउन सकेमा अपाङ्गता भएका व्यक्तिहरु र रोजगारदाता दुवै पक्षलाई अझ वढि लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा प्रत्यक्ष या संचार सञ्जाल मार्फत छलफल कार्यक्रमहरु जारी नै राखिने क्लष्टर म्यानेजर बिपिन दासले बताए । कार्यक्रमको संचालन उत्तम राईले गरेका थिए भने सहभागिता २५ जना ले जनाएका थिए ।