सडकदेखि सदनसम्म दलितहरु आन्दोलित

  • जेठ १५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन सुनसरीको इटहरी र धरानका उपमहानगर दलितहरु आन्दोलित भएका छन् ।
बिभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित समुदायका प्रतिनिधि, स्वतन्त्र दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले बिहीबार इटहरी र धरानमा व्यक्तिगत दुरी कायम गर्दै (लकडाउनको पालना गर्दै) प्लेकार्ड बोकी प्रर्दशन गरे ।
दलित अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नागरिक समाजका अगुवाहरुले समेत साथ दिएका थिए । उक्त घटनाले आफूहरुलाई दुःखित तुल्याएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न दलित अधिकारकर्मीले माग गरेका छन् ।
इटहरीको गोल चोक परिक्रमा पछिको कोणसभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य अनिता परियारले घटनाको सत्यतथ्य छानबिनका लागि नेपाल सरकारसमक्ष माग गरिन् । उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति पनि गठन गरिसकेको छ । परियारले घटनाको अनुसन्धानमा सहयोग पु¥याउन सबैपक्ष सँग अपिलसमेत गरेकी छन् ।
साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहादुरसिंह तामाङ्गले (ज्वाला) ले गणतान्त्रिक व्यवस्थामा पनि जातीय विभेद हुनु र ज्यानै लिने किसिमको घटना हुनु दुःखदायी भएको बताए । उनले पीडितले न्याय पाउनु पर्ने बताए । त्यसैगरी नेपाल काँग्रेसका इटहरी उपमहानगर कमिटिका उपसभापति शिवराज दाहालले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पार्टी लागि पर्ने बताए ।
त्यसैगरी जनता समाजवादी पार्टीका नगर सभापति डिल्ली सुब्बाले जातीय विभेदको अन्त्य हुनु पर्ने बताए । कार्यक्रमा महिला संजालकी संयोजक विमला ढकालले पनि सम्बोधन गरेकी थिइन् । साथै प्रा. डा. बद्रिविशाल पोखरेलले पनि जातीय विभेदको विरोध गरेका थिए । कार्यक्रमको संचालन सोही पार्टीकी नगर सचिव योशा गुरागाईले गरेकी थिइन् ।
उता, धरानमा यो घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै बिहिबार र्याली सहित प्रदर्शन भएको छ ।
बिहिबार दिउँसो धरानको छाताचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शनसहितको र्याली निकालिएको थियो । र्याली प्रदर्शनमा दलित संघ, संस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मी ब्यापारीहरुको पनि सहभागिता रहेको थियो ।
प्लेकार्ड बोकेका प्रदशर्नकारीहरूले घटनमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले निकालेको शान्तिपूर्ण र्यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए ।

छाताचोकदेखि शुरु भएको र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मी एवम् अगुवाहरुले सम्बोधन गर्दै हत्या घटना दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका थिए । साथै उनीहरुले मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गरेका छन् । कोणसभालाई अधिकारकर्मीहरु डिबि साहशंकर, गोविन्द विश्वकर्मा, तारा लामगादेले सम्बोधन गरेका थिए ।
कोणसभापछि उनीहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालयको प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए ।
उता, विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद उमिता बराइलीले रुकुम हत्याकाण्डको संसदिय समितिमार्फत छानविन गर्न माग गरेकी छन् । बिहीबार प्रदेश नम्बर १ प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद बराइलीले सो घटनाको संसदीय समितिमार्फत छानविन गर्न संघीय सरकारसँग माग गरेकी हुन् ।
उनले मुलुकमा गणतन्त्र आइसके पनि दलित समुदायले न्यायको अनुभूति गर्न नपाएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइन् । सांसद बराइलीले एक नम्बर प्रदेशमा पनि दलित समुदायमाथि अन्तरजातीय विवाहका नाममा जेल हाल्ने, बहिष्कार गर्ने र यातना दिने कार्य भइरहेकाले सरकारलाई गम्भीर बन्न आग्रह गरिन् । उनले समाजमा कानुनअनुसार उमेर नपुगे पनि विवाह गर्ने गराउने काम भइहरेको बताउँदै जात नमिलेकै आधारमा उमेरहदको बहाना बनाएर जेल हाल्ने र यातना दिनेजस्ता काम भइरहेकोप्रति आक्रोश पोखिन् ।
सांसद बराइलीले जातकै कारण प्रेमी र उनका साथीहरूलाई सांघातिक आक्रमण गरेर हत्या गर्नु अति नै क्रुर अमानवीय घटना भन्दै दोषीलाई कडा कारबाहीको मागसमेत गरिन् ।
त्यसैगरी, समाजवादी पार्टीका सांसद जयराम यादवले गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि जातीय विभेद भइरहनु अमानवीय कार्य भएको बताए । उनले पश्चिम रुकुममा भएको आपराधिक घटनासँगै सबै खाले जातीय विभेदको अन्त्य गराउन सरकारसँग माग गरेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]