अच्युत भट्टराई
बराहक्षेत्र । बराक्षेत्र नगरपालिकाको वडा नम्बर–४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनीहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साँघुरो बाटो फराकिलो गर्न जुटेका हुन् ।
राहुल राईको अध्यक्षतामा समिती गठन गरी सरस्वती माध्यमिक विद्यालय अगाडी रहेका ३ वटा १४ फिटे बाटोलाई २० फिटे बनाउने काम थालिएको छ ।
समितिका सचिब शुशील सुहानीले भने–‘सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरी कायम गरी काम गर्दैछौ, हाम्रो योजनाअनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ ।’ यो बस्ती २०७१–०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहर डिलका घरहरु हटाए पछि यहाँ बसेको हो । आपत बिपत पर्दा साघुरो बाटोमा एम्बुलेन्स, दमकल समेत छिर्न नसक्ने समस्या थियो । फराकिलो बनाए गिट्टी हालिदिने वचन वडाध्यक्षले दिए पछि सबैजना मिलेर बाटो बनाउन जुटेको बस्तीवासी बताउछन् । सोही वडा अध्यक्ष आशाराम चौधरीले वडाबासी जनताको बिकासमा सक्रियता देखे पछि आफ्नोतर्फबाट पनि जिम्मेवारी पूरा गर्ने बताए ।
‘सरकारी मापदण्ड अनुसार कम्तीमा २० फिट भन्दा तलका बाटोमा गिट्टी हाल्न मिल्दैन थियो, अब बाटो खन्ने काम पूरा भएपछि वडाले गिट्टी हाल्छ अध्यक्ष चौधरीले भने ।’