इटहरी । कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको छ ।
प्रदेश १ मा शुक्रबार सम्म कूल संक्रमितको संख्या ८५ पुगेको छ ।
मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गर्दै ४० हजार बढीको पीसीआर परिक्षण गराइने भएको हो ।
भारतबाट फर्किएका र आगामी दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो ।
दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्ने गरी जनशक्तिसहितको व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भयो ।
स्वीकृत कार्ययोजनाले स्वाब परीक्षणका लागि उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्लाहरूको वर्गिकरण समेत गरेको छ ।
उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कूल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोभिड–१९ परीक्षण गर्न लागिएको हो ।
अहिलेसम्म प्रदेश १ मा चार हजार एक सयभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ ।
कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरूको वृद्धि गर्ने पनि कार्ययोजनामा छ ।
यसका लागि कोशी कोभिड अस्पतालमा १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २००, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३००, कृष्णदास आश्रम बराहश्रेत्रमा २०० र सैनिक अस्पताल इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।
प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा ’होल्डिङ्ग एरिया’ पहिचान गरी निर्माण बेडको निर्माण थालिएको छ ।
होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ। ईलाममा दुई हजार, झापामा चार हजार, मोरङ्गमा पाँच हजार र सुनसरी जिल्लामा चार हजार बेड तयारको योजना छ । अहिले यी जिल्लाका १० ठाउँमा एक हजार १०३ वटा बेड बनिसकेका छन् ।