धनकुटा । जिल्ला अस्पताल धनकुटाका महिला चिकित्सकमा पहिलो नोवल कोरोना भाईरस कोभिड–१९ को संक्रमण भए लगत्तै अस्पतालमा रहेका अन्य चिकित्सक र संक्रमित नर्ससँग सिधा सम्पर्कमा आएका ८३ जनाको स्वाव परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
गत जेठ ५ गते लिइएको स्वाव परिक्षणको रिर्पोट ६ गते आएको थियो उक्त रिर्पोटमा एक महिला र ४ पुरुष गरि जम्मा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएका पाँचजनालाई नै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरिकुमार राईले सात गते आफ्नै गाडिमा राखेर कोशि अस्पताल विराटनगर पुर्याउनु भएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
संक्रमितको उपचारका लागि बिराटनगरमा रहेको कोभिड–१९ संक्रमितलाई उपचार गर्न बनेको विशेष कोशी अस्पतालमा धनकुटाबाट कोरोना संक्रमितहरुलाई विराटनगरसम्म लैजान अन्य एम्बुलेन्सले आनाकानी गरेपछि सभापति राई आफैँले नेतृत्व गर्दै जेठ सात गते दिउँसो साढे ३ बजे धनकुटाबाट विराटनगर पुर्याई राती ११ः१५ बजे मात्रै धनकुटा फर्कनु भएको थियो ।
नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सक्रमितहरु बढ्दै जाने क्रममा धनकुटामा पनि बढिरहेका छन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरुसम्म लैजाने एम्बुलेन्सहरुको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमण सर्ने डरले अधिकांस चालकहरुले आनाकानी गर्ने गरेका छन् ।
धनकुटाका संक्रमितलाई धनकुटामै राख्न नमिल्ने तर चालकहरुले समेत आनाकानी गरेपछि उहाँ आफैँले सक्रमितहरुलाई विराटनगर पुर्याउनु भएको हो ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना संक्रमण देखिए लगतै गरिएको थप परिक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । तीमध्ये बुधबार ५ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।