इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमण देखिएकोले जेठ ११ गतेसम्मका लागि सोही वडा र ३ नम्बर वडालाई सिल गरिएको छ ।
इटहरी नगरक्षेत्रभित्र पनि औषधी पसल मात्र संचालन हुनेछन् । त्यसबाहेक सम्पूर्ण पसलहरु बन्द गर्न भनिएको छ । साथै आवत जावतसमेत बन्द गरिने जनाइएको छ । लकडाउनको पूर्ण रुपमा पालना गर्नसमेत इटहरी उपमहानगरले आव्हान गरेको छ ।
यसैबीच, प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
उनीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् ।
साथै अर्का एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले परीक्षणका क्रममा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरीमा कार्यरत छन् ।
सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ । (यो समाचार तयार गर्दासम्म)