धनकुटा । धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि सुरुमै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
कोरोना भाईरस विरुद्ध अहिले सम्म धनकुटामा भैरहेको अभियानको बारेमा समीक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतन सँंगै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय धनकुटका सूचना अधिकारी जयराम श्रेष्ठले बताउनु भयो ।
प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले सो अवसरमा कोरोना भाईरसलाई धनकुटामा फैलन नदिन सवैको सहयोगबाट मात्र संभव हुने भएकाले अहिले भैरहेको प्रयासलाई अझ प्रभावकारी र सशक्त बनाउदै लानु पर्नेमा जोड दिनु भयो । उहाँले जस्तो सुकै विपतलाई पनि सवैको सहयोगले सामाना गरी विपितलाई व्यवस्थापन गर्ने वताउनु भयो ।
यसैगरी १ नम्वर प्रवेश सभाका सांसदहरु निरन राई, कुसुमकुमारी श्रेष्ठ, लिला सुब्बा, रामचन्द्र (आर सी) तुम्बाले कोरोना भाईरसलाई फैलन नदिन लक डाउन एक मात्र विकल्प भएकाले लक डाउनलाई सवैले पालना गर्नु पर्नेमा जोड दिनु भयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा धनकुटा जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद विमलीको अध्यक्षतमा सम्पन्न भएको बैठकमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तमाङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, छथरजोरपाटी गाउपालिकाका अधयक्ष शेरबहादुर लिम्बू, सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई, विपत व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, जिल्ला स्वास्थ्य कार्यालय धनकुटका प्रमुख तुलसीप्रसाद गुरागाई लगायतले कोरोना भाईरस विरुद्ध संचालन गरेको अभियानको वारेमा जानकारी गराउनुहुदै आगामी कार्यक्रमहरुका लागी सुझाव प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा धनकुटा जिल्लाको चौविसे गाउपालिकाले कोरोना भाईरस विरुद्धको अभियानमा उत्कृष्ट कार्य गरिरहेको भन्दै सवैले चौविसे गाउपालिकाको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । चौविसे गाउपालिकाले क्वारेनटाईन स्थापना गरी २७ जनलाई क्यारेनटाईनमा प्रत्यक्ष निगरानीमा राखेको, जनचेतना अभिवृद्धी जनस्तरसम्म गरेको र सवैलाई कोराना भाईरस विरुद्ध अभियानमा सहभागी गराइरहेको छ । राहत वितरण कार्य पनि लगत संकलन गरी भर्खर मात्र वितरण गर्न शुरु गरेको छ ।
नेकपा धनकुटाका प्रतिनिधि नरेन्द्र पोखरेल, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल लगायत विभिन्न महानुभावहरुले आ–आफ्नो विचार व्यक्त गर्नु भएको उक्त बैठकमा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, बरख गण सल्लेरी व्यारेकका गणपति कर्णेल भगावन सिंह थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदर्शन कोइराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटका गुल्मपती डिएसपी सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख सन्जय मण्डल लगायतका विभिन्न संघ, संस्था तथा कार्यालयहरुका प्रमुखहरुको सहभागीता रहेको थियो । उक्त बैठकको संचालन जिल्ला प्रशासन कार्यालय धनकुटका सूचना अधिकारी जयराम श्रेष्ठले गर्नु भएको थियो ।