विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ ।
प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए ।
मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए ।
सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताए । उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए । प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो ।
कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण
सामाजिक विकासमन्त्री घिमिरेलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले औषधि हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि सङ्घका अध्यक्ष जंगराज गिरीले हस्तान्तरण गरेका हुन् । च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको सङ्घले जनाएको छ ।
सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड–१९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिए ।
कोराना प्रभावित क्षेत्रमा पिपिइ पुर्याउँदै राज्यमन्त्री गजमेर
दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।
राज्यमन्त्री गजमेरले १५० थान पिपइ, दुई हजार ८०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरिन् ।