लिलाराज भट्टराई
मध्य असारको बेला झमझम पानी परिरहेको थियो । पहाडको ठाँउ आमै घर मुन्तिर टारीखेतमा धान रोपाई हुदै थियो । घुम ओडेर हिल्याउने हिल्याइरहेका थिए, रोपाहारहरु असारे गीत गाँउदै धान रोप्दै थिए । बाउसे रोपाहारसँग जिस्कदै हिलो छयाप्दै बाउसे लगाउदै थिए । घरको सिकुवामा एउटा पाँच बर्षको बालक रेडियो सुनेर बसेको थियो । शनिबारको दिन थियो, रेडियो नेपालमा नाटक सुरु भयो । रेडियो भित्र धेरै मान्छेहरु, मान्छेहरु मात्र होइन, कुकुर बाघ भालु पनि कराएको सुन्यो । त्यो बालकलाई अचम्म लाग्यो यति सानो रेडियो भित्र मान्छेहरु, कुकुर, बाघ, भालु, हात्ति कसरी अटेका होलान् । दाजु रोपाईबाट कोदाली लिन घरमा आउनुभयो । भन्नुभयो–के गर्दैछस केटा ?
केटाले भन्यो रेडियो सुन्दैछु । दाजु यो सानो रेडियोभित्र मान्छेहरु, कुकुर बाघ भालु जनावरहरु कसरी अटेर बसेका छन् ? दाजुलाई पनि जिस्क्याउन मन लाग्यो भन्नुभयो – साना साना भएर बस्छन् भित्र बस्दा बाहिर निस्के भने ठूला भइहाल्छन । बालकले पत्याएन भन्यो हैन होला ।
दाजु –हो हो किन नहुनु ।
बालक – हैन होला ।
दाजु – पत्याइनस ?
बालक – होइन होला ।
दाजु –रेडियो खोलेर तिनीहरुलाई निकालौ त ?
लु त केटोले भन्यो ।
साँच्ची पत्याइनस केटा ? खोलेपछि मान्छे मात्र निस्कदैन है,अघि कराएका कुकुर बाघ, भालु, हात्ती सबै निस्किन्छन । म त कुदेर उ त्यो सुन्तोलाको बोटमा चडिहाल्छु । त चढन सक्दैनस् अनि भेटछस् । यति भनेर दाजुले त भित्र बाट पेचकस ल्याएर रेडियोको पेच खोलेर त्यहाँका मान्छे जनावर निकाल्न पो थाल्नुभयो । अनि बालक डरायो । रुन थाल्यो ।
त्यहि बालक दुई दशक देखि रेडियो भित्र पसेको पस्यै छ । त्यहि उ बेलाको बालक अहिलेको रेडियोकर्मीको तर्फबाट तपाई सबैलाई बिश्व रेडियो दिवसको हार्दिक शुभकामना छ है हजुर । अनि बिनोद दाजु लु कहिले निकाल्ने हाउ रेडियोभित्रबाट ?